१० दलले भने: इजरायलद्वारा इरानमाथि भएको आक्रमण युद्ध अपराध हो

१० वटा राजनीतिक दलले इजरायल-इरान युद्धबारे बोलेका छन्। आइतबार (आज) संयुक्त एक विज्ञप्ति जारी गर्दै १० वटा दल इरानको पक्षमा खुलेका हुन्।

विज्ञप्तिमा हस्ताक्षर गर्नेहरूमा नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङ, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेकपा एकीकृत समाजवादीका नेता बलाराम बाँस्कोटा, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेता पवनमान श्रेष्ठ, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव आहुति, नेकपा (बहुमत) का नेता कृष्णप्रसाद धमला, राजनीतिक संवाद थलानीका संयोजक सङ्गीत श्रोता र वाम बुद्धिजीवी निनु चापागाईं छन्।

दलहरूले इजरायलले अमेरिकी साम्राज्यवादको उक्साहटमा लागेर इरानमाथि आक्रमण गरेको दाबी गरेका छन्। त्यसबाट इरानको राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप मात्र नभई अन्तर्राष्ट्रिय कानूनको समेत गम्भीर उल्लङ्घन भएको विज्ञप्तिमा भनिएको छ।

‘अमेरिकी साम्राज्यवादले समेत आणविक हतियारको बहानामा इरानमाथि आक्रमण गरेको छ। यो गम्भीर युद्ध अपराध हो। यसको हामी घोर निन्दा एवं भर्त्सना गर्दछौँ। अमेरिकी आक्रमणबाट विश्वयुद्ध निम्त्याउने दुष्प्रयास गरेको देखिन्छ। यसबाट विश्वव्यापी युद्ध आतङ्कको त्रास फैलिएको छ,’ त्यहाँ भनिएको छ।

उनीहरूले तत्काल युद्धविरामको मागसमेत गरेका छन्। ‘विश्व शान्तिका जागि संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशीलको सिद्धान्त र अन्तर्राष्ट्रिय कानूनहरूको आधारमा शान्तिपूर्ण ढङ्गले समस्याहरूको समाधान खोजिनुपर्दछ भनि सम्बद्ध सबै पक्षहरुसँग जोडदार आव्हान गर्दछौँ,’ उनीहरूले भनेका छन्।

यस्तै उनीहरूले इरानस्थित नेपालीहरूको सुरक्षाका लागि आवश्यक तयारी गर्नसमेत सरकारसँग माग गरेका छन्।